images
images

अस्पतालका निःशुल्क बेड अब अनलाइनमा, सरकारद्वारा ‘फ्रि हेल्थ पोर्टल’ सुरु

काठमाडौं । नेपाल सरकार ले देशभरका अस्पतालहरूमा विपन्न तथा असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको विवरण अब अनलाइनमार्फत सार्वजनिक गर्न सुरु गरेको छ । ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याउँदै सरकारले निःशुल्क बेडको अवस्थालाई रियल–टाइममा हेर्न सकिने व्यवस्था गरेको हो ।

यस प्रणालीमार्फत कुन अस्पतालमा कति निःशुल्क बेड उपलब्ध छन् र ती बेडमा कसले सेवा लिइरहेका छन् भन्ने जानकारी सहजै प्राप्त गर्न सकिनेछ । यसअघि कागजी प्रक्रियामा सीमित रहेको व्यवस्थालाई प्रविधिमार्फत पारदर्शी बनाउन यो पहल गरिएको हो ।

संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले यो प्रणाली लागू गरेको जनाएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

अब अस्पतालहरूले उक्त विवरण डिजिटल रूपमा अद्यावधिक गर्नुपर्नेछ । पोर्टलमा बिरामी भर्ना मिति, बेड नम्बर, विभाग र रोगसम्बन्धी विवरणसमेत समावेश गरिनेछ । यसले निःशुल्क सेवामा पहुँचवालाको वर्चस्व घटाउँदै वास्तविक लक्षित वर्गसम्म सेवा पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैसँगै सरकारले स्वास्थ्य सेवा सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि’ पनि लागू गरेको छ, जसले अस्पतालहरूको अनुगमन र स्वास्थ्यकर्मीको उपस्थितिलाई थप व्यवस्थित बनाउनेछ ।

आगामी दिनमा यस प्रणालीलाई डिजिटल पेसन्ट रेकर्ड प्रणालीसँग जोड्ने योजना रहेको छ । यसबाट अनावश्यक रिफर घट्ने र बिरामीले आफ्नो उपचार इतिहास सहजै प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्