काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण गर्ने निर्णय भएको ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको आरोप लगाउँदै नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले प्रतिनिधिसभामै मौन आन्दोलन सुरु गरेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी गरेको आरोप लगाए। त्यसको विरोधस्वरूप आफू दिनभर संसदमा उभिएर मौन बस्ने घोषणा गरेका हुन्।
उनले अघिल्ला सरकारले ट्रमा सेन्टर निर्माणका लागि २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै प्रक्रिया अघि बढिसकेको आयोजना सार्न खोजिनु अनुचित भएको बताए।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोजना राजनीतिक वा अन्य कुनै कारणले स्थानान्तरण गर्न खोजिएको दाबी गर्दै उनले निर्णय फिर्ता नभएसम्म विरोध जारी रहने चेतावनी दिए।
सांसद यादव मौन आन्दोलनमा उत्रिएपछि सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आफ्नो आसनमा बस्न आग्रह गरेका थिए। तर उनले आफ्नो विरोध जारी राख्दै सभामुखको आग्रहसमेत नमानेका थिए।















प्रतिक्रिया दिनुहोस्