images
images

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामै यात्रा सम्भव

काठमाडौं । वर्षौंदेखि धुलो, हिलो, जाम र सास्तीको पर्याय बनेको नारायणगढ–बुटवल सडकखण्ड अब सहज यात्राको मार्ग बन्दै गएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर दूरी अहिले सामान्यतया दुई घण्टामै पार गर्न सकिने अवस्था बनेको छ।

झण्डै सात वर्षदेखि विस्तारको क्रममा रहेको यो सडकमा गत वर्षसम्म दाउन्ने क्षेत्रमा लामो जामका कारण यात्रुले रात नै सडकमा बिताउनुपर्ने अवस्था थियो। तर अहिले सडकको अधिकांश भाग सञ्चालनमा आइसकेपछि यात्रा समय उल्लेखनीय रूपमा घटेको छ। केही निजी सवारी चालकले त डेढ घण्टामै नारायणगढ–बुटवल यात्रा पूरा गरेको अनुभव सुनाएका छन्।

रुपन्देहीका उद्योगी प्रकाश आचार्यले परिवारसहित नारायणगढबाट घर पुग्न एक घण्टा ५० मिनेट मात्र लागेको बताए। विगतमा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको स्मरण गर्दै उनले अहिलेको सडकले विगतका सबै दुःख बिर्साएको प्रतिक्रिया दिए।

भरतपुरका एक कर्मचारीले निजी सवारीबाट नारायणगढदेखि बुटवलको चौराहा चोकसम्म एक घण्टा ४४ मिनेटमा पुगेको बताए। त्यस्तै, यातायात व्यवसायीहरूका अनुसार अहिले यात्रु चढाउँदै–ओराल्दै जाँदा पनि बसले तीन घण्टाभित्र यात्रा पूरा गर्न थालेका छन्।

नारायणगढ–बुटवल सडक आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार सडक निर्माणको करिब ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली निर्माणको काम मात्र बाँकी रहेको उनले जानकारी दिए।

११३.३५ किलोमिटर लामो यो सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रका २८ किलोमिटर सडकलाई छ लेनमा स्तरोन्नति गरिएको छ। आयोजना करिब १६ अर्ब ९९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ, जसमा एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।

चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो सडक विस्तार आयोजना २०७५ चैतदेखि सुरु भएको थियो। सुरुमा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले पटक–पटक समय थपिएको थियो। अहिले भने निर्माण अन्तिम चरणमा पुगेपछि पूर्व–पश्चिम राजमार्गको यो व्यस्त खण्डमा यात्रा सहज बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्