images
images

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। श्रेष्ठको मंगलबार दिउँसो काठमाडौँको कुलेश्वरस्थित निवासमै निधन भएको कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए। उनी ८३ वर्षका थिए।

श्रेष्ठ लामो समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित थिए। प्याङ्क्रियाजमा समस्या देखिएपछि उनले नर्भिक र धुलिखेल अस्पतालमा उपचार गराएका थिए। त्यसपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा समेत उपचार गराएका श्रेष्ठलाई क्यान्सरको उपचारका क्रममा केमोथेरापी दिइएको थियो। करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए।

स्वदेश फर्किएपछि भने उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो।

श्रेष्ठले नेपाली कांग्रेसमा कार्यवाहक सभापति र उपसभापतिका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। तत्कालीन राजाको प्रत्यक्ष शासनका क्रममा नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवा जेल परेपछि श्रेष्ठले पार्टीको नेतृत्व सम्हाल्दै संगठन सञ्चालन गरेका थिए।

कांग्रेसका पुराना नेतामध्येका एक श्रेष्ठ गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा दिएको भाषणका कारण पनि चर्चामा आएका थिए। उनले भृकुटीमण्डपमा गरेको सम्बोधनलाई कांग्रेसभित्र निकै चर्चित भाषणका रूपमा लिइएको थियो।

यसैबीच, कांग्रेस सभापति गगन थापाले हालै श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए। केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी वरिष्ठ नेता बनाउने तयारी भए पनि त्यससम्बन्धी बैठक बस्नुअघि नै श्रेष्ठको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्