images
images

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

सोमबार एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँग भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकारका प्रमुख प्राथमिकताबारे जानकारी गराउँदै सार्वजनिक लगानीलाई प्रभावकारी बनाउने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक गतिविधि विस्तार गर्ने, ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिने तथा पूर्वाधारको आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई अघि बढाउने नीति लिइएको बताए।

उनले स्थिर नीतिगत वातावरण र बलिया संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी आर्थिक विकासको आधार हुने विश्वास व्यक्त गरे।

भेटका क्रममा एडिबीसँग नेपालको विकास साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र अघि बढाउन आग्रह गरे।

ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो। प्रधानमन्त्री शाहले पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकासमा एडिबीले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे।

जवाफमा एडिबी अध्यक्ष मासातो कान्डाले नेपाललाई प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले नेपालको डिजिटल अर्थतन्त्र विस्तार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

हाल एडिबीको नेपालमा करिब ४.२ अर्ब अमेरिकी डलर बराबरको सक्रिय लगानी रहेको छ भने त्यसअन्तर्गत ३१ वटा विकास परियोजना सञ्चालनमा रहेका छन्। साथै, सन् २०२६ मा नीतिगत सहायताअन्तर्गत १५ करोड अमेरिकी डलर उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्