images
images

पत्रकारलाई सञ्चारमन्त्रीको आश्वासन–प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको मनसाय छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नरहेको स्पष्ट पार्दै पत्रकारहरूलाई प्रेस स्वतन्त्रता हनन हुने चिन्ता नगर्न आग्रह गरेका छन्।

आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

उनले सरकार गठनपछि पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहँदा सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्ने आशंका व्यक्त भएको उल्लेख गर्दै त्यस्तो धारणा निराधार रहेको बताए।

“प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार हो। यसलाई कसैले पनि हनन गर्न सक्दैन। प्रेस स्वतन्त्रता हनन होला भनेर चिन्तित नहुन म सम्पूर्ण पत्रकार साथीहरूलाई आग्रह गर्दछु,” मन्त्री तिमिल्सिनाले भने।

उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध आए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत संयन्त्र रहेको उल्लेख गर्दै सरकार संवादमार्फत सबै समस्या समाधान गर्न तयार रहेको बताए।

मन्त्री तिमिल्सिनाले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको रूपमा उल्लेख गर्दै यसलाई थप स्वतन्त्र, विश्वसनीय, व्यावसायिक र संस्थागत बनाउन सरकार प्रतिबद्ध रहेको बताए। साथै पत्रकारिता क्षेत्रले पनि आफ्नो विश्वसनीयता, मर्यादा र सामाजिक दायित्वलाई आत्मसात् गर्दै जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहस आवश्यक रहेको बताइन्। उनले संघीय सञ्चार कानुनको स्वरूप, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारहरूको व्यावसायिक उत्तरदायित्व सम्मेलनका प्रमुख छलफलका विषय रहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्