काठमाडौं । सरकारले साझा यातायातका केही बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। शासकीय सुधारका १०० दिने कार्ययोजनाअन्तर्गत साउन १ गतेदेखि सेवा सुरु गर्ने लक्ष्य राखिएको सरकारले पहिलो चरणमा आठ वटा बस सञ्चालन गर्ने भएको हो।
यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत रकम विनियोजन गरिएको छ। हाल बजेट स्वीकृतिको प्रक्रिया अर्थ मन्त्रालयमा रहेको र स्वीकृति प्राप्त हुनासाथ सञ्चालन प्रक्रिया अघि बढाइने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा बुढानीलकण्ठ–गोदावरी रुटमा दुई, नागढुंगा–विमानस्थल रुटमा दुई तथा चक्रपथमा ‘क्लकवाइज’ र ‘एन्टी–क्लकवाइज’ गरी चार बस सञ्चालन गरिनेछ।
ब्लु बस सञ्चालनको तयारीस्वरूप साझा यातायातले रुट व्यवस्थापन र बसको पहिचान परिवर्तनको काम अघि बढाएको छ। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार मन्त्रालयसँग सम्झौता भएपछि बसलाई निलो रङमा रंग्याइनेछ र सम्झौता भएको १०–१५ दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सरकारले महिलाका लागि विशेष रूपमा सञ्चालन गर्न लागेको यी बसमा महिला यात्रुले निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिएको छ। सञ्चालन खर्च भने सरकारले नै व्यहोर्नेछ, यद्यपि लागत खर्चको विवरण सार्वजनिक गरिएको छैन।
प्रारम्भिक चरणमा ब्लु बस बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् भने साझा यातायातका अन्य नियमित बस सेवा यथावत् रहनेछन्।
सरकारले दोस्रो चरणमा प्रदेशहरूमा समेत ब्लु बस सेवा विस्तार गर्ने योजना बनाएको छ। यद्यपि, १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने प्रारम्भिक लक्ष्य भने निर्धारित समयमै पूरा नहुने देखिएको छ।














प्रतिक्रिया दिनुहोस्