images
images

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष थापाले शपथ ग्रहण गरेका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

त्यसै अवसरमा नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई पनि अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथपछि प्रतिक्रिया दिँदै अध्यक्ष थापाले निष्पक्ष, निर्भीक र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिविका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्