कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिना हेलमेट मोटरसाइकल चलाएको आरोपमा ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री निवास परिसरभित्र हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर चिट काटेको हो।
ट्राफिक प्रहरीले ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुरमा मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना गरेको जनाएको छ।
कारबाहीपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गरे। उनले कानुन सबैका लागि समान हुने भन्दै आफूलाई पनि नियमअनुसार कारबाही गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए।
‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ,’ उनले भने।
मुख्यमन्त्री शाहले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरे।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए। केही समयदेखि वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको थियो।














प्रतिक्रिया दिनुहोस्