images
images

कालो जादु दाबी गर्ने घानाका तान्त्रिकको नयाँ भविष्यवाणी– अर्जेन्टिना बाहिरिने, रोनाल्डोले विश्वकप जित्ने

काठमाडौं । इङ्ल्यान्डका कप्तान ह्यारी केनमाथि ‘कालो जादु’ प्रयोग गरेको दाबी गरेर यस विश्वकपमा चर्चामा आएका घानाका तान्त्रिक नाना क्वाकु बोन्सामले फेरि नयाँ भविष्यवाणी गरेका छन्। उनले साविक विजेता अर्जेन्टिना केप भर्डेसँग पराजित हुँदै विश्वकपबाट बाहिरिने र यसपटकको उपाधि पोर्चुगलले जित्ने दाबी गरेका छन्।

आफूलाई अफ्रिकी परम्परागत आध्यात्मिक गुरु बताउने बोन्सामका अनुसार विश्वकपको नतिजा मैदानमा खेल सुरु हुनुअघि नै ‘आध्यात्मिक संसार’मा तय भइसकेको छ। उनले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यसपटक विश्वकप जित्ने ऐतिहासिक क्षण लेखिएको दाबी गरेका छन्। उनका यी अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेका छन्।

यसअघि समूह चरणमा इङ्ल्यान्ड र घानाबीचको खेलअघि बोन्सामले ह्यारी केनलाई रोक्न आफूले ‘कालो जादु’ प्रयोग गरिरहेको बताएका थिए। संयोगवश उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो र केनले गोल गर्न सकेका थिएनन्। त्यसपछि उनको दाबीलाई लिएर फुटबल समर्थकबीच विभिन्न प्रतिक्रिया आएका थिए।

खेलपछि भने बोन्सामले केनप्रतिको आफ्नो कथित ‘श्राप’ हटाएको बताएका थिए। उनले केन आफ्नो शत्रु नभएको उल्लेख गर्दै जन्मिन लागेको सन्तानको नामसमेत ह्यारी केनकै नामबाट राख्ने बताएका थिए।

घानाको राजधानी अक्रामा धार्मिक केन्द्र सञ्चालन गर्ने बोन्साम आफूलाई आध्यात्मिक उपचारकर्ता र परम्परागत पुजारीका रूपमा चिनाउँछन्। फुटबलसँग जोडिएका उनका विवादास्पद दाबी भने नयाँ होइनन्। सन् २०१४ को विश्वकपअघि उनले क्रिस्टियानो रोनाल्डोको चोटमा पनि आफ्नो आध्यात्मिक शक्तिको प्रभाव रहेको दाबी गरेका थिए।

यद्यपि, बोन्सामका यी सबै अभिव्यक्ति कुनै प्रमाणित तथ्य नभई उनका व्यक्तिगत विश्वास र भविष्यवाणी मात्र हुन्। विश्वकपको वास्तविक नतिजा भने मैदानमा हुने प्रतिस्पर्धाले नै तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्