images
images

विष्णु पौडेलको रिटमा दिपक भट्ट मुद्दाको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल झिकाउन आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अभियोगमा पौडेलविरुद्ध पनि पूरक अभियोग दर्ता गर्ने तयारीका साथ अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मुद्दाको मिसिल माग गरेको हो। पौडेल पक्षका कानुन व्यवसायीले भने उक्त मुद्दामा पौडेलको कुनै संलग्नता नदेखिने दाबी गरेका छन्। त्यसपछि अदालतले मिसिल झिकाउँदै थप सुनुवाइका लागि बिहीबारको मिति तोकेको छ।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यसअघि असार ११ गते सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। विशेष अदालतले सोमबार उनलाई असार १७ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्