images
images

सरकारी सेवा घरमै पुर्‍याउन हुलाक सेवालाई आधुनिक बनाइएको छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन्।

हुलाक सेवा विभागले सोमबार आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गरिएको र त्यसको सकारात्मक परिणाम देखिन थालेको बताए।

उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरणमार्फत सेवा विस्तार गर्नु आवश्यक रहेको धारणा राखे।

मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारी र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। सबै सेवा सरकारले एक्लै सञ्चालन गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

हुलाक सेवाको संस्थागत छवि सुधार्न कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै उनले हुलाकलाई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको, सरल, सहज र विश्वसनीय सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्थाले नागरिकको समय, लागत र झन्झट घटाएको तथा सरकारी सेवाप्रतिको विश्वास बढाएको मन्त्री तिमिल्सिनाले बताए। सरकारी हुलाक सेवा सुरक्षाका दृष्टिले पनि भरपर्दो रहेको उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको महत्व उत्तिकै रहेको बताउँदै विभागले हालसम्म सात सरकारी निकायसँग सहकार्य गरेर राहदानी, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य परीक्षण प्रतिवेदनजस्ता कागजात घरमै पुर्‍याउने सेवा सञ्चालन गरिरहेको जानकारी दिइन्।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा विस्तार भइरहेको बताइन्। अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै हुलाकलाई आधुनिक बनाउने अभियानअन्तर्गत सरकारी कागजात सुरक्षित रूपमा घरसम्म पुर्‍याउने सेवा विस्तार भइरहेको र नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताइन्।

सरकारको १०० दिने शासकीय सुधार कार्यसूची र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने तथा परम्परागत हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवा का रूपमा विस्तार गर्ने काम अघि बढाइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्