काठमाडौं । कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा हतारमा प्रकाशित नगरिएको स्पष्ट पारे। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको उनको भनाइ छ।
कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार भएको उल्लेख गरे पनि तथ्यहीन र असम्मानजनक टिप्पणी नगर्न आग्रह गरेका छन्।
नतिजाबारे उठेका जिज्ञासा र गुनासो सम्बोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू समेत सहभागी हुने गरी विशेष समिति गठन गरिएको उनले जानकारी दिए। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण, प्राप्ताङ्क र डेटा इन्ट्री प्रक्रियाबारे थप अध्ययन गर्नेछ।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको दाबी गर्दै सरकारले यस विषयमा आवश्यक अध्ययन र निगरानीलाई निरन्तरता दिने बताएका छन्।
विद्यार्थीको चासो र सरोकारलाई सम्मान गर्दै तथ्यमा आधारित छलफल हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्