काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिएको छ। पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए।
वि.सं. २००३ मा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय रहे। वि.सं. २०५६ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकबाट निर्वाचित भएका उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
कांग्रेसभित्र सरल, इमानदार र सादगीपूर्ण नेताका रूपमा परिचित खरेलको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको भन्दै नेताहरूले दुःख व्यक्त गरेका छन्।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। श्रद्धाञ्जलीपछि आजै दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने कार्यक्रम छ।











प्रतिक्रिया दिनुहोस्