काठमाडौं । प्रतिनिधिसभाको बैठक असार ११ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डीपी अर्यालले शुक्रबारको कार्यसूचीमा रहेका छलफल र निर्णय प्रक्रिया सम्पन्न भएपछि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
बैठकले सरकारले ल्याएका आठ अध्यादेशमध्ये चार अध्यादेश स्वीकृत गरेको छ। संसद्को चालु अधिवेशन सुरु हुनुअघि जारी गरिएका ती अध्यादेशहरू गत वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए।
शुक्रबारको बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृत भएका छन्।
प्रतिनिधिसभाबाट स्वीकृति पाएसँगै यी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा ल्याउने बाटो खुलेको छ।
सरकारले संसद् अधिवेशन नभएको समयमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलगायत आठ वटा अध्यादेश जारी गरेको थियो।
बाँकी अध्यादेशमाथिको प्रक्रिया भने आगामी बैठकहरूमा अघि बढाइनेछ। प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने कार्यतालिका तय गरिएको छ।










प्रतिक्रिया दिनुहोस्