images
images

इ–पासपोर्ट खरिद प्रकरण : पूर्वपरराष्ट्रमन्त्री आरजु राणा पनि अनुसन्धानको दायरामा

काठमाडौं । इ–पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित विषयमा पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इ–पासपोर्ट खरिद प्रक्रियाबारे अनुसन्धान अघि बढाउँदै पूर्वमन्त्री राणालाई बयानका लागि उपस्थित हुन भन्दै म्याद तामेल गरेको हो। आयोगको टोली मंगलबार बूढानीलकण्ठस्थित उनको निवासमा पुगेर म्याद बुझाएको जनाएको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त निवासमा आगजनी भएको थियो। हाल उक्त घर भत्काउने काम भइरहेको छ। देउवा दम्पती अहिले स्वदेशमा नरहेको र उपचारका लागि विदेशमा रहेको बताइएको छ।

स्वदेशमा रहेका बेला पनि उनीहरू जेनजी आन्दोलनपछि बूढानीलकण्ठस्थित निवासमा नबसी महाराजगञ्जमा भाडाको घरमा बस्दै आएका थिए।

यसैबीच, बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियार टोलीले वडामार्फत सम्पर्क गरी इ–पासपोर्ट सम्बन्धी अनुसन्धानका लागि म्याद तामेल गरेको हो।

अख्तियारले इ–पासपोर्ट खरिद प्रक्रियामा देखिएका विषयहरूबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्