काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलहरूले राष्ट्रियता, सीमा सुरक्षा र सरकारको जवाफदेहिताका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) की सांसद पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।
सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको स्पष्टीकरणप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले एसइई परीक्षार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने तथा प्रहरीले घरमा ढुंगा हानेर क्षति पुर्याउने जस्ता घटनाप्रति पनि आपत्ति जनाए ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको नेपाली भूभागमा प्रवेश गरेको विषयमा सरकारसँग जवाफ माग गरे । उनले इलामको चर्चित चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै स्थानीय नेपाली नागरिकले देखाएको साहसको प्रशंसा गरे । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा र अधिकारप्रति सरकार थप संवेदनशील हुनुपर्ने बताए ।
संसद्मा राष्ट्रियता र सीमा सुरक्षासम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार सरकारसँग स्पष्ट जवाफ मागिरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्