धनगढी । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो खसालिएको घटनाले विवाद चर्किएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वन कर्मचारीहरूले टेम्पोलाई धकेलेर भिरमा खसालेको देखिएपछि घटनाप्रति व्यापक आलोचना भएको हो।
घटनापछि डिभिजन वन कार्यालय धनगढीले विज्ञप्ति जारी गर्दै टेम्पो जानाजानी नभई दुर्घटनावश भिरबाट खसेको दाबी गरेको छ। कार्यालयका अनुसार अतिक्रमण हटाउने क्रममा प्रयोगविहीन अवस्थामा रहेको कवाडी टेम्पोलाई पन्छाउने प्रयास गर्दा भिरालो भू–भागका कारण नियन्त्रण बाहिर गई खस्न पुगेको हो।
वन कार्यालयले उक्त टेम्पोलाई गुड्ने अवस्थाको सवारी नभई चक्का र इन्जिन बिग्रिएको ‘फलामे अस्थिपञ्जर’ भएको दाबी गरेको छ। कार्यालयका अनुसार सो संरचना वन क्षेत्र अतिक्रमण गरी अस्थायी पसलका रूपमा प्रयोग हुँदै आएको थियो र यसअघि पटक–पटक हटाउन निर्देशन दिइएको थियो।
यता टेम्पो धनी धनादेवी धामीले भने वन कार्यालयको दाबी अस्वीकार गरेकी छन्। उनले टेम्पो चालु अवस्थामै रहेको र आफूले घर लैजाने तयारी गरिरहेकै बेला वन कर्मचारीहरूले जबर्जस्ती भिरबाट खसालेको आरोप लगाएकी छन्। घटनाले निजी सम्पत्तिमाथि भएको व्यवहार र वन अतिक्रमण हटाउने कार्यविधिबारे प्रश्न उठाएको छ।
स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। वन कार्यालयको स्पष्टीकरण र पीडित पक्षको आरोपबीच फरक–फरक दाबी आएपछि घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान आवश्यक देखिएको छ।












प्रतिक्रिया दिनुहोस्