काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्षको वैशाख महिना निकै प्रतिस्पर्धात्मक बनेको छ । देशका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै कुल ४ अर्ब १ करोड ४५ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
पछिल्लो समय भएका ठूला मर्जर र पुँजी वृद्धिको दबाबबीच बजार हिस्सा बढाउन कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
वैशाख महिनाको व्यवसायिक दौडमा हिमालयन एभरेस्ट इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले ६३ करोड ४८ लाख ६० हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो ।
दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्स ले ४३ करोड ३० लाख ३४ हजार रुपैयाँको व्यवसाय गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४२ करोड ६३ लाख २० हजार रुपैयाँसहित तेस्रो स्थानमा पुगेको छ ।
त्यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले ४१ करोड ४९ लाख ६७ हजार रुपैयाँ र शिखर इन्स्योरेन्स ले ३९ करोड ९ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्दै शीर्ष पाँचभित्र स्थान बनाएका छन् ।
मध्यम स्तरका कम्पनीहरूमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले ३७ करोड ३५ लाख ८६ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ले २८ करोड ९४ लाख ५९ हजार रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्स ले २८ करोड ८ लाख ६८ हजार रुपैयाँ व्यवसाय गरेका छन् ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स ले २१ करोड १८ लाख ३३ हजार रुपैयाँको व्यवसाय गर्दै २० करोडभन्दा माथिको कारोबार गर्न सफल भएको छ ।
पुराना तथा विदेशी लगानी भएका केही कम्पनीहरू भने अपेक्षाकृत कमजोर देखिएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनी ले १६ करोड ९ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनी ले १४ करोड ७० लाख ३८ हजार रुपैयाँ मात्र व्यवसाय गरेका छन् ।
यस्तै प्रभु इन्स्योरेन्स ले १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ सङ्कलन गर्दा नेशनल इन्स्योरेन्स कम्पनी १० करोडभन्दा तल झर्दै ८ करोड ३२ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा कमजोर प्रदर्शन भने राष्ट्रिय बीमा कम्पनी को देखिएको छ । सरकारी स्वामित्वको उक्त कम्पनीले वैशाख महिनाभरि जम्मा ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ मात्र बीमा शुल्क आर्जन गर्न सकेको छ ।
वैशाख महिनाको तथ्याङ्कले मर्जरपछि बनेका ठूला कम्पनीहरूले बजारमा प्रभाव बढाउँदै गएको र साना तथा सरकारी कम्पनीहरूलाई व्यवसाय विस्तारमा चुनौती थपिएको स्पष्ट देखाएको छ ।











प्रतिक्रिया दिनुहोस्