वीरगन्ज । वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५ प्रतिशत अर्थात् एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँले बढी हो । गत वर्ष १० महिनामा यस नाकाबाट छ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट ले वीरगन्ज नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए । उनका अनुसार विशेषगरी पेट्रोलियम पदार्थ तथा फलामजन्य वस्तुको आयात बढेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यस्तै ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरका फलाम तथा फलामजन्य सामग्री भित्रिएको छ ।
यस अवधिमा ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरका मेसिनरी तथा पार्टपुर्जा र ५५ अर्ब सात करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्