काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार यसको प्रभावले अहिले देशभर सामान्यदेखि आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा पानी पर्न सक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ । साथै मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।
आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो लहर चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्