images
images

ट्राफिक जाम र प्रदूषण बढेपछि सार्वजनिक सवारी दर्ता बन्द

काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्र पठाउँदै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारीको अत्यधिक चाप सिर्जना भएको तथा ट्राफिक जामका कारण यात्रुहरूलाई आवतजावतमा समस्या भइरहेको छ । यस्तै, इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र प्रभावित भएकाले हालको प्रणालीलाई व्यवस्थित गर्न नयाँ दर्ता रोक्ने निर्णय गरिएको जनाएको छ ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै निर्णय लागू गरिएको स्पष्ट पारेको छ । उक्त कानुनी व्यवस्थाअनुसार वातावरण प्रदूषण, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक हितलाई ध्यानमा राखेर सवारी दर्ता रोक्न सकिने प्रावधान छ ।

यो निर्णय विद्युतीय (ईभी) सार्वजनिक सवारी साधनमा समेत लागू हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्