काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ भने केही स्थानमा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्