images
images

समस्याग्रस्त सहकारीका थप ३०४ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले बुधबार कृषि सहकारीशिव शिखर बहुउद्देश्यीय सहकारी का बचतकर्तालाई रकम फिर्ता गरेको हो।

समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले रकम प्राप्त गरेका छन्। यसअघि कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका गरी ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरिएको थियो।

समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब रकमको आकारअनुसार वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको जनाइएको छ।

पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार कुल बचतकर्तामध्ये १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्