images
images

बलेवा सेवा समाजद्वारा जुना नेपालीको उपचारका लागि आर्थिक सहयोग

जापान — बागलुङ नगरपालिका–१३, ढाडा चिसाखोला निवासी जुना नेपालीको उपचारका लागि बलेवा सेवा समाज जापानले सञ्चालन गरेको सहयोग अभियान सफल भएको छ। ब्रेन ट्युमर तथा नेक ट्युमरका कारण तत्काल शल्यक्रिया आवश्यक परेपछि आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएसँगै संस्थाले सहयोग अभियान अघि बढाएको थियो।

अभियानमार्फत कुल ¥84,200 (चौरासी हजार दुई सय येन) संकलन गरिएको संस्थाले जनाएको छ। संकलित रकम संस्थाका कोषाध्यक्ष दीपकराज पौडेलमार्फत सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ।

अभियान सफल बनाउन संस्थाका सचिव राजेश रिजाल ‘इन्द्र’को विशेष भूमिका रहेको भन्दै संस्थाले उहाँप्रति आभार व्यक्त गरेको छ। साथै, संरक्षक, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य तथा विभिन्न शुभेच्छुकहरूबाट प्राप्त सहयोगप्रति पनि संस्थाले धन्यवाद ज्ञापन गरेको छ।

संस्थाका अध्यक्ष सुरेन्द्र ‘प्रेम’ले विपत्, रोग तथा आपत्कालीन अवस्थामा परेका बलेवालीहरूलाई यथाशीघ्र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने बताएका छन्। उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद दिँदै ‘मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने भावनासहित संस्थाले काम गर्दै आएको उल्लेख गरेका छन्।

उक्त अभियानमा विभिन्न व्यक्तिहरूले सानाठूला रकम सहयोग गरेका थिए, जसबाट संकलित रकमले पीडितको उपचारमा राहत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्