काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्मको यो व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढेको हो ।
यस अवधिमा आयात १३.८२ प्रतिशतले बढ्दै १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । इन्धन आयातमा सबैभन्दा धेरै रकम खर्च भएको छ । नौ महिनामा डिजेल मात्रै १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ भने ७६ अर्ब रुपैयाँको सोयाबिन तेल, ५० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको ग्यास आयात भएको तथ्यांकले देखाएको छ । गत वर्ष सोही अवधिमा कुल आयात १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ थियो ।
निर्याततर्फ पनि केही सुधार देखिएको छ । समीक्षा अवधिमा नेपालले २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.४६ प्रतिशतले बढी हो । यस अवधिमा ९० अर्ब ७१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ भने १० अर्ब ७० करोडको अलैँची, ७ अर्ब ४४ करोडको गलैँचा र ६ अर्ब ९४ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
यद्यपि आयात र निर्यातबीच ठूलो अन्तर कायम रहँदा मुलुकले नौ महिनामा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.०४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो ।
तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९९ प्रतिशत र निर्यातको हिस्सा १३.०१ प्रतिशत रहेको छ । नेपालले यस अवधिमा १६७ देशसँग व्यापार गरेकोमध्ये ३५ देशसँग नाफा हुँदा १२२ देशसँग घाटा भएको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्