काठमाडौं । आज वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने पर्व देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस अवसरमा सन्तानहरूले आफ्नी आमालाई मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा राखिन्छिन्। त्यसैले यो दिनलाई आमाप्रति सम्मान, भक्ति र कृतज्ञता व्यक्त गर्ने विशेष अवसरका रूपमा लिने गरिन्छ।
आमा जीवित नभएका व्यक्तिहरूले भने तर्पण, पिण्डदान तथा पुरोहितलाई भोजन गराई दिवङ्गत आमाको स्मरण गर्ने चलन छ। शास्त्रमा आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि महान् मानिएको उल्लेख पाइन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार सन्तानलाई गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व विशेष हुन्छ। यसै कारण जीवित आमालाई खुशी पार्ने र दिवङ्गत आमालाई श्रद्धापूर्वक सम्झने परम्परा विकसित भएको हो।
यसै अवसरमा मातातीर्थ क्षेत्रमा मेला लाग्ने गर्दछ। यहाँ विशेषगरी आमाको सम्झनामा श्रद्धालुहरू भेला भई पूजा–आराधना गर्ने गर्दछन्।













प्रतिक्रिया दिनुहोस्