काठमाडौं । बालेन्द्र शाह प्रतिष्ठित टाइम म्यागजिन ले सार्वजनिक गर्ने विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२६ को ‘टाइम १००’ सूचीमा उनलाई ‘नेता’ विधामा समावेश गरिएको हो ।
यस सूचीमा डोनाल्ड ट्रम्प र तरिक रहमान लगायत २४ जना राजनीतिक व्यक्तित्वसँगै बालेनको नाम समावेश गरिएको छ । म्यागजिनले प्रभावशाली व्यक्तित्वलाई कलाकार, दिग्गज, नवप्रवर्तक, आइकन, नेता र मार्गदर्शक गरी विभिन्न विधामा वर्गीकरण गरेको छ ।
म्यागजिनका प्रधानसम्पादक स्याम ज्याकोब का अनुसार सूचीमा विश्वको दिशा निर्धारण गरिरहेका व्यक्तिहरूलाई समेटिएको छ । यो सूची केवल लोकप्रियता वा सफलताका आधारमा नभई विश्वव्यापी प्रभाव, सोच परिवर्तन गर्ने क्षमता र दीर्घकालीन योगदानका आधारमा तयार गरिएको जनाइएको छ ।
यस वर्षको सूचीमा विभिन्न देशका राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, उद्यमी, कलाकार र वैज्ञानिक समावेश छन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र र विश्व राजनीतिमा प्रभाव पार्ने व्यक्तित्वलाई प्राथमिकता दिइएको छ । बालेन यसअघि सन् २०२३ मा पनि ‘टाइम १०० नेक्स्ट’ सूचीमा परेका थिए ।
टाइम म्यागजिनका ‘एडिटर–एट–लार्ज’ चार्ली क्याम्पवेल ले लेखेको प्रोफाइलमा बालेनको उदयलाई युवापुस्ताको विद्रोह र परम्परागत राजनीतिक संरचनाप्रतिको अस्वीकृतिका रूपमा चित्रण गरिएको छ । पूर्व हिप–हप कलाकारबाट राजनीतिमा आएका बालेनले भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति र सार्वजनिक समर्थनका आधारमा उदाएका नेता भएको उल्लेख गरिएको छ ।
सिभिल इन्जिनियरिङ अध्ययन गरेका बालेन यसअघि काठमाडौं महानगरपालिकाका मेयर बनेर चर्चा कमाएका थिए । फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासपछि उनी राष्ट्रिय राजनीतिमा उदाएका हुन् ।
टाइमको विश्लेषणअनुसार बालेनको उदयले दक्षिण एसियाको परम्परागत वंशवादी राजनीतिक संरचनामा चुनौती दिएको छ । अब उनले स्थानीय तहमा देखाएको कार्यशैलीलाई राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने वा नसक्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।












प्रतिक्रिया दिनुहोस्