काठमाडौँ । अमेरिकी अर्बपति जेफ्री एप्स्टिनसँग सम्बन्धित यौन अपराध र बाल यौन तस्करीका ३० लाखभन्दा बढी पृष्ठका गोप्य दस्तावेज सार्वजनिक भएपछि विश्वभर ठुलो राजनीतिक र सामाजिक तरङ्ग फैलिएको छ। विश्वका शक्तिशाली नेता, अर्बपति र सेलिब्रेटीहरूको नाम जोडिएको यो प्रकरणमा नेपालको नाम ११८ पटक उल्लेख भएको पाइएपछि यसको प्रभाव दक्षिण एसियासम्म फैलिएको छ।
एप्स्टिन फाइलमा समावेश सामग्री अनुसार अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका यी दस्तावेजहरूमा १ लाख ८० हजार तस्बिर र करिब २ हजार भिडियोहरू रहेका छन्। एप्स्टिनले आफ्नो निजी टापु ‘लिटल सेन्ट जेम्स’ र ‘लोलिता एक्सप्रेस’ नामक विमानमार्फत विश्वका शक्तिशाली व्यक्तिहरूलाई पुर्याउने र नाबालिगहरूको यौन शोषण गर्ने गरेको ठहरिएको छ।
जेफ्री एप्स्टिन एक धनी फाइनान्सर थिए । उनलाई नाबालिग केटीहरूको यौन दुर्व्यवहार र बेचबिखन गरेको गम्भीर आरोप लागेको थियो । २०१९ मा मुद्दा चलिरहेको बेला उनी न्यूयोर्कको जेलमा मृत फेला परेका थिए । उनकाे जेलभित्रै रहस्यमय मृत्यु भएको थियो।
जेफ्री एप्स्टिनको विश्वव्यापी सञ्जालमा धेरै प्रभावशाली व्यक्ति जोडिएका थिए। सार्वजनिक फाइल अनुसार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित टिपहरू छन् । ट्रम्पले बारम्बार एप्स्टिनसँग कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गरेका छन् भने अमेरिकी न्याय विभागले फाइलमा रहेका धेरै दस्तावेज अप्रमाणित वा भ्रामक हुन सक्ने चेतावनी दिएको छ।
एलोन मस्क पनि एप्स्टिनको नेटवर्कसँग जोडिएका छन्। इमेल विवरण अनुसार उनी र एप्स्टिनबीच २०१२ र २०१३ मा मित्रवत् सन्देश आदान-प्रदान भएको देखिन्छ। एप्स्टिनले मस्कलाई आफ्नो निजी टापुमा निम्तो दिएको भए पनि मस्कले बारम्बार अस्वीकार गरेका छन्। हावर्ड लुटनिकले पनि एप्स्टिनसँगको सम्बन्ध तोडेको र आफूलाई ‘घृणास्पद’ लागेको बताएका छन्।
ब्रिटिश राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटेन–विन्डसरको नाम पनि फाइलमा देखा परेको छ। २०१० मा एप्स्टिनले घरधन्दा सजाय पाएपछि उनी बकिङ्घम प्यालेसमा भेट्न निम्तो दिएका थिए। उक्त भेटघाटमा २६ वर्षकी रूसी महिलासँग भेट गराउने विषय छलफलमा आएको देखिन्छ। साथै, उनको एउटा आपत्तिजनक तस्विर पनि सार्वजनिक भएको थियो।

यी तथ्यहरूले देखाउँछन् कि एप्स्टिनको सञ्जाल विश्वव्यापी थियो र विश्वका शक्तिशाली व्यक्ति, अर्बपति, राजपरिवारका सदस्य र दक्षिण एसियामा नेपालसहित छिमेकी देशका केही प्रभावशाली व्यक्तिहरूसँग अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा जोडिए छन् । राेचक त के छ भने दलाइ लामा समेत यसमा जाेडिएका छन् । उनकाे नाम पनि सार्वजनिक फाइलमा जाेडिएकाे छ ।
नेपाल र दक्षिण एसियाली ‘कनेक्सन’?
नेपालसँग सम्बन्धित फाइलहरूमा पनि केही गम्भीर विवरणहरू भेटिएका छन्। सांकेतिक भाषा प्रयोग गर्दै महिला र किशोरीहरूको ओसारपसारलाई ‘गलैँचा’ (Rug/Carpet) को रूपमा उल्लेख गरिएको देखिन्छ। सन् २०७२ को भूकम्पपछिका समयमा ग्रामीण भेगका बालबालिकालाई सहरमा पढाउने र रोजगारी दिने बहानामा गतिविधि भएको संकेत फाइलमा भेटिएको छ। केही फाइलमा मुस्ताङका राजा र सामाजिक संस्थासँगको धन संकलन तथा सहयोगका दाबीहरू पनि छन्। कतिपय इमेलमा हिमालय क्षेत्रका बालबालिकाको मल (stool) अनुसन्धानका लागि प्रयोग हुने र नेपाली महिलाले ग्रिन कार्ड पाएको जस्ता विवरणसमेत रहेका छन्।
दक्षिण एसियाली प्रकरणमा भारतका प्रभावशाली व्यक्तिहरूको नाम पनि जोडिएको देखिन्छ। सन् २०१७ को एक इमेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित दाबी आएको भए पनि भारतको विदेश मन्त्रालयले यसलाई ‘एक अपराधीको बकवास’ भन्दै खारेज गरेको छ। उद्योगी अनिल अम्बानी र फिल्म निर्देशक मीरा नायरको नाम पनि एप्स्टिन नेटवर्कसँग जोडिएको दाबी फाइलमा छ। मीरा नायरको सहभागीता सामाजिक वा व्यावसायिक भेटघाट मात्र भएको दाबी समर्थकहरूले गरेका छन्।
बिल गेट्सले एप्स्टिनसँगको भेटलाई ‘मूर्खतापूर्ण कार्य’ भन्दै पश्चाताप गरेका छन् भने प्रिन्स एन्ड्र्यु र डोनाल्ड ट्रम्पले कुनै पनि गलत कार्यमा संलग्नता अस्वीकार गरेका छन्।
एप्स्टिन फाइलले विश्वव्यापी शक्तिको आडमा हुने यौन हिंसा र तस्करीको सञ्जाल कति व्यापक थियो भन्ने देखाउँछ। नेपालको नाम बारम्बार उल्लेख हुनु र भूकम्पपीडित बालबालिकासँग सम्बन्धित विवरण आउनुले नेपाली सुरक्षा निकाय र सरकारका लागि पनि गम्भीर अनुसन्धानको विषय बनेको छ।
लामो समय देखि फाइल सार्वजनिक गर्नु पर्ने माग हुदैँ आएको थियो । फाइल सार्वजनिक भएपछि विश्वभर आलोचना र प्रश्नहरू उठेका छन् । धेरै कागजात कालो पोतेर (redacted) मात्र सार्वजनिक गरिएको र महत्वपूर्ण विवरणहरू अझै गोप्य रहँदै आएको भन्दै अमेरिकी सांसद र पीडित समूहहरूले न्याय विभागलाई पारदर्शीता अभावको आरोप लगाइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्