images
images

लोकतन्त्रको समर्थन भन्दै भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले ट्रम्पलाई दिइन् आफूले पाएको नोबेल पुरस्कार

काठमाडौं । भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटका क्रममा मचाडोले उक्त पदक ट्रम्पलाई उपहारस्वरूप प्रदान गरेकी हुन्।

मचाडोले ट्रम्पसँगको भेटपछि सार्वजनिक प्रतिक्रिया दिँदै भेनेजुएलाली जनताको स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारका पक्षमा ट्रम्पले देखाएको समर्थनको कदरस्वरूप आफूले नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेको बताएकी छन्। उनका अनुसार यो कदम राजनीतिक नभई ‘नैतिक र प्रतीकात्मक सम्मान’ हो।

ह्वाइट हाउस स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले उक्त पदक स्वीकार गरेका छन्। ट्रम्प यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय शान्ति पहलमा आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए।

तर, यस विषयमा नर्वेजियन नोबेल संस्थाले स्पष्ट पार्दै आएको नियमअनुसार नोबेल शान्ति पुरस्कार कसैलाई हस्तान्तरण, बाँडफाँड वा रद्द गर्न मिल्दैन। अर्थात् मचाडोले दिएको पदक केवल भौतिक रूपमा हस्तान्तरण गरिएको हो, पुरस्कारको आधिकारिक स्वामित्व भने उनकै नाममा कायम रहनेछ।

गत वर्ष मचाडोलाई भेनेजुएलामा लोकतन्त्र पुनःस्थापनाका लागि लामो समयदेखि गरेको संघर्ष, राजनीतिक दमनविरुद्धको आवाज र मानवअधिकारको पक्षमा गरेको भूमिकाका कारण नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

यस घटनाले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चासो बढाएको छ भने भेनेजुएलाको आन्तरिक राजनीतिक संकट र अमेरिकी भूमिकाबारे नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्