धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार भएको तोडफोड र धार्मिक ग्रन्थ जलाउने घटनाले स्थानीय समुदायमा ठूलो आक्रोश फैलाएको थियो। प्रहरीका अनुसार घटनाको सुरुवात सामाजिक सञ्जालमा दुई मुस्लिम युवकले पोस्ट गरेको विवादास्पद भिडियोबाट भएको हो। उक्त भिडियोमा हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश देखिएको थियो।
वीरगञ्जका मुस्लिम समुदायले उक्त घटनाको विरोधमा सडकमा उत्रिएका थिए। उनीहरूले भीडमा टायर बालेर र नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरे। प्रदर्शनकारीले छपकैया प्रहरी बिटमा तोडफोड गर्दा स्थिति तनावपूर्ण बनेको थियो। पर्सा प्रहरीले जवाफी कारबाहीको क्रममा ५ राउण्ड अश्रुग्यास प्रहार गरेको डीएसपी राजु कार्कीले जानकारी दिए। प्रहरीले भने स्थिति नियन्त्रणमा लिएपछि हाल वीरगञ्जमा अवस्था सामान्य रहेको जनाएको छ।
धनुषा प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार, भिडियो पोस्ट गर्ने दुवै युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गर्दा घटना थप जटिल बनेको थियो। प्रदर्शनमा सहभागीहरूले अल्पसंख्यक समुदायमाथि आक्रमण नगर्न र दोषीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए।
वीरगञ्जको घण्टाघर, छपकैया र अन्य स्थानमा बिहानैदेखि विरोध प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले घटनालाई ध्यानमा राख्दै प्रहरीको पर्याप्त टोली तैनाथ गरेको थियो।








प्रतिक्रिया दिनुहोस्