images
images

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा भारी माग, पुस ११ सम्म मात्र खुला

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा सर्वसाधारण लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीले पुस ७ गते (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन सुरु गरेको हो। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार आईपीओ निष्कासनको पहिलो दिनमै मागभन्दा झण्डै ६ गुणा बढी आवेदन परेको छ। पहिलो दिन १ लाख ९१७ जना आवेदकबाट ५३ लाख ९८ हजार १०० कित्ता शेयरका लागि ४ अर्ब ४३ करोड ७ लाख ६० हजार ४८० रुपैयाँ बराबरको आवेदन परेको हो।

कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्कासन गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा शेयर निष्कासन तथा बाँडफाँट गरिसकेको थियो। रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशत बराबरको १९ करोड २६ लाख ६० हजार रुपैयाँ मूल्यको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। कुल आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले २०८० माघ १५ गते योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पुस १ गते बाँडफाँट गरेको थियो। साथै, ५७ हजार ७९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र सोही संख्याको शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ छिटो अवधि पुस ११ गतेसम्म मात्र खुला रहनेछ। योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँमा शेयर बाँडफाँट गरिएको भए पनि सर्वसाधारणका लागि १० प्रतिशत कम मूल्य अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निष्कासन गरिएको हो। एक जना आवेदकले न्यूनतम ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने व्यवस्था छ।

कम्पनीले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१२ खनारमा मुख्य उद्योग र दुहबी नगरपालिका–३ मा शाखा उद्योग सञ्चालन गरिरहेको छ। रिलायन्स स्पिनिङ मिल्स नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने उद्योगमध्ये एक हो। कम्पनीले उत्पादन गरेको ७० देखि ७५ प्रतिशतभन्दा बढी धागो भारत, टर्की, भियतनामलगायत विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ।

उच्च गुणस्तरका धागो उत्पादनका लागि कम्पनीले भारत सरकारबाट इन्डियन स्ट्यान्डर्ड प्रमाणपत्रसमेत प्राप्त गरेको छ। निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेको यस उद्योगले करिब ३ हजार ८०० भन्दा बढी श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब ६० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँ र हालको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४०० रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

आईपीओपछि कम्पनीको शेयर संरचनामा संस्थापकतर्फ ८९ दशमलव ८६ प्रतिशत, योग्य संस्थागत लगानीकर्तातर्फ ४ दशमलव ०५६ प्रतिशत र सर्वसाधारणतर्फ ६ दशमलव ०८४ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ। कम्पनीले आईपीओबाट संकलित रकम उद्योगको उत्पादन विविधीकरण र क्षमता अभिवृद्धिमा प्रयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्