images
images

पारलैङ्गिक पुरुष (ट्रान्सम्यान)ले भोगेको महिनावारी विभेद सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं । “नेपालका पारलैङ्गिक पुरुष (ट्रान्सम्यान) का बीचमा महिनावारी विभेद” विषयक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । तीन–दिने मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन (International Learning Conference on Dignified Menstruation) का क्रममा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अध्ययन ३० जना पारालिंगी पुरुष (ट्रान्सम्यान) सहभागी चारवटा फोकस समूह छलफल र ५२ जनामा गरिएको अनलाइन सर्वेक्षणमा आधारित छ । प्रतिवेदनले ट्रान्समेन्सले भोग्ने माहवारी विभेद अन्य माहवारी हुने व्यक्तिभन्दा झनै जटिल र गम्भीर रहेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदन अनुसार पारलैङ्गिक पुरुष (ट्रान्सम्यान)हरू पनि बाल्यकालदेखि नै महिनावारीलाई डर, लाज र निषेधसँग जोडेर बुझ्न बाध्य हुन्छन् । पहिलो महिनावारी बाटै ती भावनाहरू गहिरिँदै जाने र जीवनभर कायम रहने गरेको उल्लेख छ । उनीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै प्रकारका विभेद नियमित रूपमा भोगे पनि धेरैजसोका अनुभवहरू समाजमा व्यक्त हुन सकेका छैनन् ।

पारलैङ्गिक पुरुषको पहिचानका कारण परिवार, विद्यालय, समुदाय र संस्थागत तहमा तहगत विभेद हुने गरेको प्रतिवेदनले देखाएको छ । उनीहरूको आवश्यकताहरू बेवास्ता गरिनु वा गलत रूपमा बुझिनुले स्वास्थ्य सेवा, सामाजिक संवाद र नीतिनिर्माणमा उनीहरूलाई बाहिरै राख्ने प्रवृत्ति कायम रहेको अध्ययनको निष्कर्ष छ । लैङ्गिक पुष्टि (Gender–affirming) सेवाहरू महंगा र जोखिमपूर्ण भएकाले धेरैले आवश्यक सेवा लिन नसक्ने अवस्थासमेत देखाइएको छ ।

सहभागीहरूका भनाइअनुसार उनीहरू भावनात्मक, सामाजिक–आर्थिक र राजनीतिक जटिलताबीच जीवन बिताइरहेका छन्, जहाँ माहवारी विभेद अन्य प्रकारका अवमानना र बहिष्करणसँग जोडिने गरेको छ ।

समुदायलाई गरिमामय माहवारीबारे शिक्षित गर्ने, सबै तहमा गरिमामय अभ्यास र मूल्यहरू लागू गर्ने, मिडियामा ट्रान्समेन्सको प्रतिनिधित्व बढाउने, र माहवारी अधिकारसम्बन्धी ज्ञानमार्फत उनीहरूलाई सशक्त बनाउने प्रतिवेदनका प्रमुख सिफारिसहरू हुन् । प्रतिवेदनले माहवारी विभेदलाई मानव अधिकारसम्बन्धी मुद्दा भएको स्पष्ट उल्लेख गरेको छ ।

प्रकाशन कार्यक्रममा अनुभव सुनाउँदै कालीकोटका ट्रान्सम्यान अनु शाही ठाकुरीले बाल्यकालदेखि नै आफूलाई केटाको रूपमा महसुस गरे पनि महिनावारीको वास्तविकतासँग जुध्नुपर्नु आफैँमा ठूलो मानसिक आघात भएको बताए । १४ वर्षको उमेरमा भएको पहिलो महिनावारीलाई उनले ‘अत्यन्त डर लाग्दो क्षण’ का रूपमा स्मरण गरे ।

उनका अनुसार द्वन्द्व÷डिस्फोरिया, दोहोरो पहिचान, भावनात्मक तनाव, हर्मोनको प्रयोग गर्नुपर्ने दवाव तथा उपहास–ठट्टा पारालिंगी पुरुषका प्रमुख चुनौती हुन् । “तपाईं महिनावारी हुन्छ ? तपाईंको यौनाङ्ख छ त ?” फार्मेसीमा प्याड किन्न जाँदा फार्मासिस्टले गरेको प्रश्न उनले झेल्नुपरेको विभेदको एउटा सामान्य उदाहरण मात्रै भएको बताए ।

शाहीले पाठ्उघर भएका व्यक्तिहरू महिनावारी हुन्छन भन्ने वैज्ञानिक बुझाइलाई समाजले स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, ट्रान्समेन्सबारे खुला संवाद र नीतिगत ध्यानको खाँचो रहेको बताए ।

यो प्रतिवेदन युनिटी फर चेन्जले राधा पौडेल फाउन्डेशन/ग्लोबल साउथ कोअलिसन फर डिग्निफाइड मेन्सटुरेशनको सहकार्यमा तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्