काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरका पुराना ७ वटा ग्रिड सबस्टेसनलाई पूर्णरूपमा स्वचालित प्रणालीमा रूपान्तरण गरेको छ। विद्युत् प्रणालीलाई आधुनिक, सुरक्षित, कार्यक्षम र स्मार्ट ग्रिडतर्फ उन्मुख गर्ने दीर्घकालीन योजनाअनुसार १३ वटा सबस्टेसनलाई स्वचालित बनाउने परियोजना अघि बढाइएका मध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरमा रहेका सबस्टेसन अहिले स्वचालित रूपमा सञ्चालनमा आएका हुन्।
यी सबस्टेसन अब मीनभवनस्थित प्राधिकरण मुख्यालयमा निर्माण गरिएका नयाँ ‘कन्ट्रोल रुम’ मार्फत दूरस्थ रूपमा सञ्चालन र अनुगमन गर्न सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। यसका लागि अत्याधुनिक उपकरण तथा प्रणालीसहित नयाँ नियन्त्रण कक्ष सञ्चालनमा ल्याइएको छ।
यसै क्रममा स्यूचाटार, टेकु, मातातीर्थ, चाबहिल, के–३ र लामोसाँघु उपस्टेसनलाई आगामी दुई महिनाभित्र स्वचालित प्रणालीमा जोडिने तयारी भएको छ। स्वचालित सबस्टेसनहरू स्यूचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’ सँग ‘सुपरभाइजरी कन्ट्रोल एण्ड डाटा एक्विजिसन’ (SCADA) प्रणाली मार्फत एकीकृत प्रणालीमा जोडिने भएकाले सम्पूर्ण विद्युत् प्रवाह, तथ्याङ्क, भार व्यवस्थापन तथा नियन्त्रण क्षमतामा सुधार हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले स्वचालनपछि विद्युत् अवरोधबाट आम उपभोक्ता प्रभावित हुने सम्भावना कम हुने विश्वास व्यक्त गरे। उनका अनुसार वास्तविक समयमा उपलब्ध हुने तथ्याङ्कका आधारमा लोड ब्यालेन्स सहज हुने, सबस्टेसन सञ्चालन तथा मर्मत-सम्भार खर्च घट्ने, प्राविधिक क्षति न्यून हुने र स्मार्ट ग्रिड निर्माणका लागि आधार बलियो हुनेछ। उनले स्वचलित व्यवस्था पूर्ण कार्यान्वयनमा आएपछि अधिकांश सबस्टेसन मानवरहित मोडमा सञ्चालन गर्न सकिने पनि बताए।
एशियाली विकास बैंक (ADB) को प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत कूल ६१ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋणमार्फत सबस्टेसन स्वचालन गरिएको हो।
देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसनलाई पनि यही प्रणालीमा रूपान्तरण गर्ने कार्य एडीबीको सहयोगमा जारी रहेको प्राधिकरणले जनाएको छ। आगामी डेढ वर्षभित्र सम्पूर्ण सबस्टेसन स्वचालित बन्ने लक्ष्य राखिएको छ।








प्रतिक्रिया दिनुहोस्