images
images

बेनीकोटका किसानद्वारा दुई करोड रुपैयाँको सुन्तला बिक्री

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानहरूले यस वर्ष करिब दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट मात्र सात किलोमिटर टाढा रहेको बेनीकोटमा अहिले किसानहरू बारीमा फलेका सुन्तला टिप्न, छान्न र बिक्रीका लागि तयारी गर्न व्यस्त छन्। किसान फलबहादुर थापाले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताए।

सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापाले सुन्तला खेती गाउँको प्रमुख आयस्रोत बन्दै गएको उल्लेख गरे। उनका अनुसार बेनीकोटबाट मात्रै यो वर्ष करिब दुई करोड रुपैयाँ बराबरको सुन्तला बजारमा पठाइएको छ। अर्का किसान कालबहादुर रानाले चार लाख रुपैयाँको सुन्तला बिक्री गरेको बताए। उत्पादन राम्रो भएकाले बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। ‘ठेकदारहरू आफैँ गाउँमै आइपुग्छन्, मोलमोलाइ गरेर सुन्तलाबारीका बोट किन्नेदेखि टिप्ने र ढुवानी गर्ने काम समेत उनीहरूले नै गर्छन्,’ उनले भने।

स्थानीय मनसिंह थापाले पनि सुन्तला खेती अन्य बालीभन्दा सहज र लाभदायक रहेको बताए। मङ्सिर महिनाभर गाउँमा सुन्तला बेच्न किसानलाई भ्याइनभ्याइ हुने उनको अनुभव छ। थापाले यस वर्ष दुई लाख १० हजार रुपैयाँको सुन्तला बिक्री गरे। यद्यपि भिरालो सडक र स्तरोन्नति नहुँदा ढुवानीमा कठिनाइ रहेको व्यवसायी लेखबहादुर थापाले बताए। जोखिमपूर्ण सडकका बीच दैनिक पाँच गाडी बराबर सुन्तला बजार पुर्याइने उनले जानकारी दिए।

बेनीकोटका किसानहरूले न्यूनतम २० देखि अधिकतम ८०० बोटसम्म सुन्तलाको खेती गरेका छन्। यहाँ उत्पादन हुने सुन्तला काठमाडौँ, चितवनदेखि पोखरासम्म आपूर्ति हुँदै आएको छ। धान भित्र्याउने समयसँगै मङ्सिर महिनामा यहाँका किसानको प्रमुख आम्दानीको आधार पनि यही सुन्तला खेती बनेको छ।

प्रतिक्रिया दिनुहोस्