काठमाडौं । चालु आर्थिक वर्षका पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधि हुँदै पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जसमा ३५ दशमलव ४ प्रतिशत वृद्धि देखाइएको छ।
गत वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर ११ दशमलव ९ प्रतिशत मात्र रहेको र कुल आप्रवाह चार खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको थियो। चालु आवको पहिलो महिना साउनमा रेमिट्यान्स २९ दशमलव ९ प्रतिशतले बढेर एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो। भदौमा भने यो वृद्धि ३३ दशमलव १ प्रतिशतमा पुग्दै तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ।
यता, सोही अवधिमै देशको कूल वस्तु व्यापार घाटा १२ दशमलव २ प्रतिशतले बढेर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। चालु आवको पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर (BOP) दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खातामा एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तरमा एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बचत थियो।
यससँगै, पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव ६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, वस्तु आयात पनि १९ दशमलव ८ प्रतिशतले बढ्दै चार खर्ब ६८ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।









प्रतिक्रिया दिनुहोस्