विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन आयोजना हुने भएको छ ।
दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल ( Global South Coalition for Dignified Menstruation) र राधा पौडेल फाउण्डेसनको संयोजनमा राष्ट्रिय युवा परिषद् तथा MenEngage alliance (Global) को सह–आयोजनामा सिकाइ सम्मेलन आयोजना हुन लागेको हो ।
प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत १४ औ दिन डिसेम्बर ८ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । यस वर्ष पनि “मर्यादित , समानता, मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने मूलनारा सहित सातौँ मर्यादित महिनावारी दिवस नेपाल सहित विश्वभर मनाइदै छ । उक्त अवसरमा नेपालमा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन डिसेम्बर ८ देखि १० सम्म काठमाडौँमा हुन लागेको हो ।
काठमाडौँकाे अनामनगर स्थित सिलौटो कटेजमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक सस्थाहरुले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्सको भव्यताका साथ तयारि भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै लेखक तथा अभियन्ता राधा पौडेलले मर्यादित महिनावारीको सवाल विश्वभरिका वैज्ञानिकहरूलाई चुनौती दिने तहसम्म महत्वपूर्ण भएको उल्लेख गरिन् । उनका अनुसार महिनावारीलाई विभिन्न कोणबाट अनुसन्धान गरी नयाँ दृष्टिकोण निर्माण गर्न यो सम्मेलन प्रभावकारी हुने छ । उनले सम्मेलन रंगिन हुने र महिलालगाय विभिन्न समुहले आफ्ना कथा आफै सुनाउने हुनाले आफु यसका लागी लालायित भएको बताइन ।
पौडेलले महिनावारी र लैङ्गिक हिंसा गहिरोसँग जोडिएको बताउँदै प्रत्येक व्यक्तिले मर्यादित महिनावारीको आवाज उठाउनु अत्यावश्यक भएको उल्लेख गरिन् । उनले भनिन्, “महिनावारीका कारण घरभित्रै असमान शक्ति संरचना निर्माण हुन्छ, जसले विभेदको सुरुवात त्यहीँबाट गराउँछ ।” नेपाल प्रहरीका तथ्याङ्क उद्धृत गर्दै उनले ९१ प्रतिशत लैङ्गिक हिंसा घर–परिवारमै हुने तथ्य प्रस्तुत गरिन् । भान्साजस्ता आधारभूत निर्णयमा समेत महिलाको सहभागिता नहुनु त्यही शक्ति असमानताको परिणाम भएको औंल्याइन् । साथै, महिनावारीलाई अपमानजनक रूपमा व्याख्या गर्ने विश्वभरका भाषा, शब्द र संस्कृतिमा भएका अभिव्यक्तिहरूको व्यापक अध्ययन गरिएको जानकारी उनले दिइन् ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले महिनावारीसँग सम्बन्धित विभेद हटाउन युवाहरूको भूमिकालाई निर्णायक बताउँदै प्रत्येक युवाले सामाजिक विभेदका विषयमा जिम्मेवारीपूर्वक उभिनुपर्ने आवश्यकता औंल्याए । उनले सम्मेलनले युवाहरूको सक्रिय सहभागिता बढाउने, उनीहरूलाई महिनावारीसम्बन्धी विभेदबारे गहिरो ज्ञान र सजगता प्रदान गर्ने र समावेशी समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सम्मेलनमा २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने छन् । सहभागी देशहरूमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, क्यामरुन, केन्या, जापान, रुवान्डा, नेपाल, नाइजेरिया, पाकिस्तान, पेरु, टोगोलगायत समावेश छन् । सम्मेलनमा विभिन्न सत्र, प्रशिक्षण, कार्यशाला, अनुसन्धान प्रतिवेदन सार्वजनिक, अनुभव आदान–प्रदान, नीतिगत छलफल तथा भावी कार्ययोजना तय गरिनेछ ।
उद्घाटन सत्रमा प्रधानमन्त्री सुशीलाकारीको भिडियो सन्देश र मन्त्रीहरू, सरकारी उच्च अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि तथा युवा समूहहरूको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा मार्च पास, समूह प्रस्तुति, सांस्कृतिक नाटक, गीत संगीत, तथा “मर्यादित महिनावारी” सम्बन्धी प्रदर्शनी पनि रहनेछ । यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रुपमा नितिगत बहस, अनुभव आदान प्रदान , प्रमाण–आधारित समाधान र सहकार्यमा सुदृढीकरणमा ऐतिहासिक योगदान दिने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्