images
images

उनानब्बे वर्षको यात्रामा नेपाल बैंक: लेजरदेखि पूर्ण डिजिटल बैंकिङसम्मको रूपान्तरण

काठमाडौं : नेपालको सबैभन्दा पुरानो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले ८९ वर्षको यात्रा पार गर्दै देशको वित्तीय प्रणालीलाई आधुनिकता र डिजिटल रूपान्तरणतर्फ उन्मुख गरिरहेको छ। भारतीय रुपैँयाको छायाबाट नेपाली मुद्रा उठाउने अभियानसहित सुरु भएको बैंक अहिले अत्याधुनिक डिजिटल बैंकिङ प्रविधिमा आधारित सेवा विस्तार गरेर नयाँ युगमा प्रवेश गरिरहेको छ।

वि.सं. १९९४ कात्तिक ३० मा स्थापना भएको नेपाल बैंकले देशमा औपचारिक बैंकिङको सुरुवात गर्‍यो। लेजर बुक, धातुको टोकन र साधारण पासबुकबाट सुरु भएको सेवा अब डिजिटल प्लेटफर्म, एटिएम, मोबाइल बैंकिङ र अनलाइन भुक्तानी प्रणालीमा रूपान्तरण भइसकेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे भन्छन्—“नेपाल बैंकको यात्रा समयको परिवर्तनसँगै देशको आर्थिक चेतनाको विकासको साक्षी बनेको छ।”

सुरुमा सरकारी स्वामित्वमा स्थापित भए पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा विस्तार भएको बैंक अहिले ७१ जिल्लामा २३१ शाखा, ६१ एक्सटेन्सन काउन्टर र २३७ एटीएममार्फत सेवा दिइरहेको छ। करिब २७ लाख ग्राहकसहित बैंक देशभर आफ्नो उपस्थितिलाई थप मजबुत बनाइरहेको छ।

पछिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले तीन अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चालु वर्षको पहिलो त्रैमासमै कर्जा प्रवाह २ खर्ब ३६ अर्ब र निक्षेप ३ खर्ब ४२ अर्ब पुगेको छ। सस्तो ब्याजदर र विश्वसनीयताका कारण नेपाल बैंक कर्जाका लागि पनि आकर्षक गन्तव्य बन्न सफल भएको सिइओ पाण्डेयको भनाइ छ।

बैंकिङ इतिहासमा भारतीय मुद्रा विस्थापनदेखि आमजनतालाई बैंकिङको परिभाषा नै सिकाउने कामसम्म नेपाल बैंकको भूमिका महत्वपूर्ण रह्यो। साहुबाट ऋण खोज्ने संस्कृतिलाई बैंकिङ प्रणालीमा रूपान्तरण गर्दै सुरक्षित, पारदर्शी र आधुनिक वित्तीय व्यवहारतर्फ जनतालाई डोर्‍याउने अभियानमा बैंकले अग्रणी भूमिका खेलेको थियो।

अहिले बैंकिङ क्षेत्र तरलताले भरिएको बेला नेपाल बैंक नियामकको नियमनमा बसेर प्रतिस्पर्धी बैंकिङमा समान रूपमा अगाडि बढिरहेको छ। पाण्डे भन्छन् “किल्ला, बाकस र धातु टोकनको समयबाट सुरु भएको हाम्रो यात्रा आज अत्याधुनिक डिजिटल बैंकिङसम्म पुगेको छ, र यो परिवर्तनले नेपाली बैंकिङ क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याएको छ।”

नेपाल बैंक स्थापना देखिनै आर्थिक संरचनाको आधार निर्माण गर्ने संस्थाको रूपमा चिनिँदै आएको छ। आज ५१ प्रतिशत सरकारी तथा ४९ प्रतिशत सर्वसाधारण स्वामित्वमा रहेको बैंक आधुनिक बैंकिङ प्रविधि, दक्ष जनशक्ति र देशव्यापी सञ्जालसहित नेपालको वित्तीय भविष्यलाई अझ मजबुत बनाउने यात्रामा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्