माओवादीसहितका १० वाम दलबीचको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसालको संयोजकत्वमा नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान गठन गरिएको छ। शनिबार सम्पन्न भर्चुअल (जुम) बैठकमार्फत अभियानको घोषणा गरिएको संयोजक भुसालले जानकारी दिएका छन्। बैठकमा एकता प्रक्रियामा सहभागी नभएका नेकपा (एकीकृत समाजवादी) का ६७ जना केन्द्रीय सदस्य सहभागी थिए। बैठकमा सहभागी अर्का नेता दामोदर अर्यालका अनुसार पार्टीमा एकता प्रक्रियामा सहभागी नभएका करिब १५८ जना केन्द्रीय सदस्य छन्। तर प्राविधिक कारणले उक्त बैठकमा ६७ जनामात्र सहभागी हुन सकेका थिए।
बैठकले मंसिरको पहिलो साताभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। यसअघि कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वाम दलबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। तर नेता भुसाल उक्त एकता प्रक्रियामा सहभागी भएका थिएनन्। भुसाल नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव हुन्।
यसबीचमा भुसालले माओवादी केन्द्र छाडेका तत्कालीन उपमहासचिव जनार्दन शर्मा, कम्युनिस्ट पार्टी नेपाल (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतासँग पनि छलफल गरेका छन्।
भुसालको संयोजकत्वमा सुरु गरिएको यो पुनर्गठन अभियानले एकीकृत समाजवादीलाई नयाँ ढाँचामा पुनःसंगठित गर्ने तयारी गरेको बताइएको छ।











प्रतिक्रिया दिनुहोस्