images
images

राष्ट्रपति पौडेल दोहामा सम्पन्न विश्व शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किँदै

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किँदै छन्। यस सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल केही दिनअघि आधिकारिक भ्रमणका लागि कतार प्रस्थान गरेका थिए।

सम्मेलनको मुख्य सत्रमा उनले गत मङ्गलबार सम्बोधन गर्दै नेपालले सामाजिक विकासका क्षेत्रमा गरेको प्रगति, गरिबी निवारणमा सरकारका प्रयास, रोजगारी सिर्जनाका कार्यक्रम, र सामाजिक समावेशीकरणका नीतिहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए। साथै, उनले दिगो विकासका लक्ष्य (SDGs) हासिल गर्न अन्तर्राष्ट्रिय सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिएका थिए।

त्यसैगरी राष्ट्रपति पौडेलले सम्मेलनका क्रममा आयोजित “सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण” विषयक उच्चस्तरीय गोलमेच सत्रलाई पनि सम्बोधन गरेका थिए। उक्त सत्रमा उनले सबै राष्ट्रहरूले समान अवसर, सामाजिक न्याय र मानव मर्यादाको सुनिश्चितताका लागि आपसी सहयोग बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कतार भ्रमणका क्रममा राष्ट्रपति पौडेलले विभिन्न देशका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। ती भेटवार्तामा आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्