काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा देखिएको विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विद्युत् आपूर्ति अवरुद्ध हुँदा देशभरका दर्जनौँ उद्योग बन्द हुने र हजारौँ श्रमिक रोजगारी गुमाउने अवस्थासम्म पुगेको बताए।
उनले यस्तो परिस्थितिले औद्योगिक उत्पादन, निर्यात र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको भन्दै वार्ता र संवादमार्फत दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिए। ढकालका अनुसार विद्युत् आपूर्तिमा अवरोधले राष्ट्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। उनले भने, “रोजगारी सिर्जना गर्ने, कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनमा आक्रमणको शिकार बन्नु दुःखद हो। सरकारको दृष्टिकोण निजी क्षेत्रप्रति सकारात्मक हुन जरुरी छ।”
उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र घुसपैठका कारण औद्योगिक सुरक्षामा कमजोरी देखिएको उल्लेख गर्दै लगानीकर्तामा भय र अनिश्चितता बढेको बताए। “उद्योगी–व्यवसायीको मनोबल घट्दै गयो भने न वैदेशिक लगानी आउँछ, न आन्तरिक पूँजी टिक्छ,” उनले चेतावनी दिए।
अध्यक्ष ढकालले औद्योगिक सुरक्षासम्बन्धी सरकारी निर्णयहरू सराहनीय भए पनि ती निर्णयको कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए। साथै उनले सरकारले जिल्ला सुरक्षा समितिका पदाधिकारी र व्यवसायीबीच प्रत्यक्ष समन्वय गर्न बैठक राख्ने निर्णयलाई महासंघले स्वागत गरेको जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्