काठमाडौं – आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सनातन धर्मावलम्बीहरूले आजका दिन भगवान् विष्णु र तुलसीको विवाह गरी श्रद्धा र भक्तिसाथ पर्व मनाउँदै छन्। सनातन परम्परा अनुसार आषाढ शुक्ल एकादशीका दिन तुलसी रोपेर चार महिनासम्म पूजा गर्ने चलन छ, जसलाई चतुर्मास भनिन्छ। चतुर्मासको अन्त्यमा, हरिबोधिनी एकादशीका दिन तुलसीलाई भगवान् विष्णुसँग विवाह गरिन्छ।
पौराणिक मान्यताअनुसार भगवान् विष्णुले आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा शयन गर्न जानुहुन्छ र आजको दिन, कार्तिक शुक्ल एकादशीमा जागरण गर्नुहुन्छ। “हरि” अर्थात् विष्णु र “बोधिनी” अर्थात् जागरण भएकाले यस एकादशीलाई हरिबोधिनी भनिएको हो। यस दिन उपवास, स्नान, दान र भगवान् विष्णुको आराधना गर्ने धार्मिक परम्परा छ। भोलिपल्ट द्वादशीका दिन हवन र विसर्जन गरी व्रत समाप्त गरिन्छ। पञ्चाङ्ग अनुसार यस वर्ष शनिबार राति २:५६ बजेसम्म एकादशी तिथि रहनेछ।
यही दिनदेखि भीष्म पञ्चक पनि सुरु हुने धार्मिक विश्वास छ। एकादशीदेखि पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गरिन्छ। यस अवधिमा देशभरका नारायण मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।








प्रतिक्रिया दिनुहोस्