काठमाडौं । नेपाल धितोपत्र बोर्डमा क्रियाशील दुई कर्मचारी संगठनहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन्। शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष राजकुमार पण्डित र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले संयुक्त विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको पत्रपछि उत्पन्न भएको समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने बताएका छन्।
गत असोज २ गते अर्थ मन्त्रालयले कर्मचारीले पाउँदै आएको सुविधा खोजिने र केही सुविधा फिर्ता गर्नुपर्ने उल्लेख गर्दै पत्र पठाएको थियो। उक्त पत्रको विरोधमा कर्मचारीहरू ३९ दिनदेखि निरन्तर आन्दोलनमा छन्। पेनडाउन र धर्नाका कारण बोर्डका सबै कामकाज अहिले पूर्ण रूपमा अवरुद्ध भएका छन्। विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष र सञ्चालक बोर्डबाट समस्या समाधानका लागि ठोस पहल नदेखिएको, विगतका निर्णयको रक्षा गर्न नसक्ने र समाधान खोज्ने इच्छाशक्ति समेत नभएकाले अध्यक्ष अब पदमा रहन योग्य छैनन्।”
कर्मचारी संगठनहरूले अध्यक्षले राजीनामा नदिएसम्म उनलाई कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा समेत गरेका छन्। साथै, कार्तिक १२ गते अध्यक्षले प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरेको घटनाप्रति खेद प्रकट गरिएको छ। कर्मचारीहरूको भनाइमा बोर्डले अहिलेसम्म जम्मा एक पटक मात्रै बैठक बसेको छ, जसमा पनि समस्याको समाधानबारे कुनै गम्भीरता देखिएको छैन। उनीहरूले अर्थ मन्त्रालयको निर्णयविरुद्ध बोर्डले संस्थागत रूपमा अदालत जानुपर्ने माग गरेका छन्।
तर, न अदालत पुगेको छ, न समस्या समाधानको पहल भएको छ। संघर्ष लामो हुँदा सेवाग्राही प्रभावित भएको स्वीकार गर्दै कर्मचारीहरूले बाध्यतावश बोर्डको काम रोक्नुपरेको भन्दै क्षमायाचना समेत गरेका छन्।










प्रतिक्रिया दिनुहोस्