images
images

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा थपियो ५० अर्ब सरकारी ऋण

चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले ५० अर्ब ६० करोड रुपैयाँ बराबर नयाँ ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब चार करोड रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ।

कार्यालयका अनुसार हाल तिर्न बाँकी सरकारी ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ दशमलव ६१ प्रतिशत बराबर पुगेको छ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड पुगेको छ।

सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब बराबरको सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। त्यसमा पहिलो त्रैमासमा एक खर्ब ८४ करोड बराबर ऋण प्राप्त भइसकेको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव ९३ प्रतिशत हो।

कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्म ऋण सेवा खर्च जीडीपीको एक दशमलव ८० प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्