काठमाडौं : बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मोन्था भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो। उनका अनुसार बिहानैदेखि कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा चक्रवातको प्रभाव देखिन थालेको छ, जसका कारण यी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार नेपालमा हाल मोन्था चक्रवातका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ। आज दिउँसो कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। देशका उच्च पहाड तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ।
आज राति कोसी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाड तथा हिमाल भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार कोसी, बागमती र गण्डकीका केही उच्च पहाडी क्षेत्रमा भारी हिमपात र मधेस, बागमती तथा लुम्बिनीका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ।








प्रतिक्रिया दिनुहोस्