काठमाडौँ । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। व्रतालुहरूले बिहान सबेरै नदी, तलाउ र पोखरीको किनारमा भेला भई गाईको दूध, फूल र जल अर्पण गर्दै सूर्यदेवलाई अर्घ्य दिएका छन्। यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट पूजा’ भनिन्छ। बिहानको समयमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर दर्शन गरेपछि छठ पूजा सम्पन्न हुने धार्मिक परम्परा छ।
सूर्य आराधनाका क्रममा भक्तजनहरू कम्मरसम्म पानीमा डुबेर सूर्यको दर्शन गर्छन्। धार्मिक विश्वासअनुसार पृथ्वीका सबै जीवको सञ्चालन र संरक्षण जल र सूर्यबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई शक्तिको मूल स्रोतका रूपमा पूजा गरिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकामना पूरा भई इच्छित फल प्राप्त हुने विश्वास छ। शास्त्रमा यस दिनको पूजा ‘सूर्य षष्ठी’ नामले उल्लेख गरिएको छ।
छठ पर्वमा विवाहिता दम्पतीहरूले दीर्घ दाम्पत्य जीवनको कामना, अविवाहितहरूले सुयोग्य वर वा वधु प्राप्तिको प्रार्थना, र सन्तानको अभिलाषा राख्नेहरूले सन्तान प्राप्तिको आशा गर्छन्। यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। चतुर्थीका दिन स्नान गरी चोखो भोजन गरी व्रत प्रारम्भ गरिन्छ र व्रत अवधिभर माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि परहेज गरिन्छ।
पहिले तराई–मधेश क्षेत्रमा सीमित यो पर्व वि.सं. २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो। वि.सं. २०६२ मा श्री छठ पूजा समिति औपचारिक रूपमा दर्ता भएपछि काठमाडौँका विभिन्न घाटहरू — गुह्येश्वरी, गौरीघाट, वाग्मती किनार आदिमा छठको विशेष रौनक फैलिन थालेको हो। छठ पर्वले सत्य, शुद्धता र प्रकृतिप्रतिको आस्था मार्फत सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश दिने परम्परा कायम राख्दै आज सफलतापूर्वक सम्पन्न भएको छ।









प्रतिक्रिया दिनुहोस्