images
images

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर श्रद्धा र आस्थासाथ छठ पर्व मनाइँदै

काठमाण्डौ – आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन, देशभर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना र उपासनासहित मनाइने यो पर्व शनिबारदेखि सुरु भएको हो।

पौराणिक ग्रन्थ महाभारत अनुसार अज्ञातवासमा रहेका पाँच पाण्डव र द्रौपदीले सूर्यदेवको आराधना गरी गुप्तवास सफल भएको कथा यस पर्वसँग जोडिएको छ। सोही घटनाबाट छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ। त्यस्तै सूर्य पुराण अनुसार अत्रि मुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेकी थिइन् र पतिप्रेम तथा अटल सौभाग्य प्राप्त गरेको उल्लेख छ।

सूर्यलाई विश्वको जीवनशक्ति मानिन्छ। सूर्यबिना रुख, बिरुवा, वनस्पति, प्राणी तथा मानव जीवन असम्भव हुने मान्यता छ। प्राचीन ग्रन्थहरूमा सूर्यकिरणले विभिन्न रोगको उपचार हुने उल्लेख पाइन्छ। साम्व पुराण अनुसार भगवान् श्रीकृष्णका पुत्र साम्व सूर्यको आराधनाबाट कुष्ठरोगबाट मुक्त भएका थिए। जनविश्वासअनुसार छठ व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति मिल्छ। झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालु र उनका सन्तानको कल्याण हुने मान्यता छ। आर्थिक अभाव भएकाले पनि यो पर्व श्रद्धा र विश्वाससाथ मनाउने गर्छन्।

व्रत विधिअनुसार चतुर्थीका दिन स्नान गरी एक छाक खानु र पाँचमीका दिन सखर हालिएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। षष्ठीका दिन कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि पर्व समापन हुन्छ। धार्मिक विश्वास अनुसार छठ पर्वमा सूर्यको विधिपूर्वक पूजा–अर्घ्य गरे चर्म रोग लाग्दैन।

विसं २०४६ अघि सीमित रूपमा तराई क्षेत्रमा मनाइने यो पर्व अहिले राष्ट्रिय चाडको रूप लिएको छ। सोही वर्षदेखि सरकारले देशभर सार्वजनिक बिदा दिन सुरु गरेको हो। यस अवसरमा राजधानीका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, वागमती, नक्खु र विष्णुमती नदी किनारहरूमा विशेष सजावट गरिएको छ।

व्रतालुले चतुर्थीदेखि नै सात्विक खानपान गरी शुद्धतापूर्वक व्रत बस्ने गर्छन्। केही व्रतालुले त कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागी चोखो आहार ग्रहण गर्ने गर्छन्। श्रद्धा, शुद्धता र आस्थाको प्रतीक यस पर्वले आज नेपाली समाजमा एकता र पवित्रताको सन्देश दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्