images
images

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सरकाले सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो । महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् ।

तीन दशकभन्दा लामो सुरक्षा सेवाको अनुभव बोकेका सुरक्षा अधिकारीका रूपमा पौडेल परिचित छन् । नेपाल प्रहरीबाट करियर शुरू गरेका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मिएका पौडेल संगठनमा सरल र मिजासिला मानिन्छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका पौडेलले नेपाल प्रहरीमा रहँदा रोल्पामा स्ट्राइकिङ टोली कमान्डरका रूपमा कार्य गर्दै चुनौतीपूर्ण सुरक्षा अवस्थामा प्रभावकारी नेतृत्व प्रदर्शन गरेका थिए ।

उक्त कार्यका लागि उनलाई प्रहरी प्रधान कार्यालयले ग्रेड थप गरी पुरस्कृत गरेको थियो ।

त्यसबाहेक इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुख, जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरीक्षक तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्