काठमाडौं । गुँरास हाइड्रोपावर कम्पनी ले दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको सिलीचोङ गाउँपालिका लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे ले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ लाई एम्बुलेन्सको चाबी तथा आवश्यक कागजात हस्तान्तरण गर्नुभयो।
एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। “जीवनभन्दा ठूलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार अब आपतकालीन अवस्थामा बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पताल पुर्याउन सहज हुनेछ।
भौगोलिक रूपमा विकट र सीमित सडक सञ्जाल भएको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो। यस्तो अवस्थामा एम्बुलेन्स उपलब्ध गराइनुलाई स्थानीयले ठूलो उपलब्धिका रूपमा लिएका छन्।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष गणेश कुलुङ राई, वडा नं. २ का अध्यक्ष मोहन सम्सेर राई, वडा नं. ३ का अध्यक्ष प्रताप सिंह तामाङ, वडा नं. ४ का अध्यक्ष देवेन्द्र राई र वडा नं. ५ का अध्यक्ष ईश्वर राईसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल गुँरास हाइड्रोपावर परियोजना सोही गाउँपालिकामा निर्माणाधीन रहेको छ। स्थानीयवासीले एम्बुलेन्स हस्तान्तरणलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरेका छन्।













प्रतिक्रिया दिनुहोस्