काठमाडौँ । काठमाडौँ उपत्यका मा आज वायु प्रदूषण उच्च स्तरमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (AQI) का अनुसार शुक्रबार बिहान ७:२५ बजेको मापनमा उपत्यका विश्वकै दोस्रो बढी प्रदूषित सहरको सूचीमा परेको छ।
हाल उपत्यकाको AQI १८४ मापन गरिएको छ, जुन ‘अस्वस्थकर’ श्रेणीमा पर्छ। सामान्यतया १५१ देखि २०० सम्मको AQI अस्वस्थकर मानिन्छ भने २०१ माथि ‘अति अस्वस्थकर’ अवस्थामा पर्छ।
यसैबीच नयाँ दिल्ली विश्वकै सबैभन्दा बढी प्रदूषित सहरका रूपमा पहिलो स्थानमा रहेको छ, जहाँ AQI २४८ पुगेको छ। विश्व स्वास्थ्य संगठन का अनुसार मानव स्वास्थ्यका लागि AQI ३५ भन्दा कम उपयुक्त मानिन्छ भने ५० सम्मलाई सामान्य मानिन्छ। यसभन्दा माथिको स्तर स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ।
AQI मापनअनुसार ५१–१०० लाई ‘सावधानी’, १०१–१५० लाई संवेदनशील समूहका लागि जोखिमयुक्त, १५१–२०० लाई अस्वस्थकर, २०१–३०० लाई अति अस्वस्थकर र ३०० माथि खतरनाक श्रेणीमा राखिन्छ।
केही दिनअघि वर्षापछि सुधार देखिएको उपत्यकाको वायु गुणस्तर पछिल्लो समय फेरि बिग्रिएको हो। बिहीबार बिहान ११ बजे AQI २४७ पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ स्तरमा पर्छ।वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदी का अनुसार वर्षा नहुनु, बढ्दो सुक्खापन, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोका घटनाले प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। मौसमविद्हरूका अनुसार तत्काल वर्षाको सम्भावना नरहेकाले आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्